अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुलमा रुख र ढुंगा अड्किँदा फेरि थुनियो मर्स्याङ्दी नदी

पुलमा रुख र ढुंगा अड्किँदा फेरि थुनियो मर्स्याङ्दी नदी


मनाङ- चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार चामे गाउँपालिका-४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको छ । पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।

नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो ।