अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले एकता प्रयास

अदालत बाहिर एमालेमा सहमतिको प्रयास कायमै

अदालत बाहिर एमालेमा सहमतिको प्रयास कायमै


काठमाडौं– सर्वोच्च अदातलमा आफ्नै पार्टीका सांसदहरुले समेत प्रधानमन्त्री कै विरुद्ध मुद्दा हाले पनि अदालत बाहिर भने एमालेमा सहमतिको प्रयास जारी छ ।

कार्यदलका एक नेताका अनुसार अस्ती र हिजो पनि दुवै पक्षका केही नेताहरु संवादमा जुटिरहेकै छन् । ती नेताका अनुसार अब अदालतमा माधव पक्षका सांसदहरुले बुझाएको हस्ताक्षर फिर्ता लिनु नलिनुको औचित्य सकिएको छ । तर पार्टी एकताको औचित्य भने अझैं बाँकी रहेकोले यो प्रयास जारी राखिएको हो । अघिल्ला भेटघाटहरु भन्दा पछिल्ला दिनमा भएका भेटघाटहरुलाई थप गोप्य राखिएको छ ।

कतिपय अवस्थामा छलफलमा उठेका कच्चा विषयहरु पनि मिडियामा बाहिरिएपछि सहमतिको वातावरण थप गिजोलिएको भन्दै नेताहरुले आफ्ना भेटघाट र मिडिया ब्रिफिङलाई कडाइ गरेका छन् ।

अन्य कुरामा सहमति भए विवादका बेला गरिएका व्यवहार माफी मिनाहा हुनुपर्छः माधव पक्ष

‘सर्वोच्चमा रहेको मुद्दा जीते पनि हारे पनि पार्टी एकताका लागि प्रयास जारी राख्नु पर्छ भन्ने हाम्रो मान्यता छ,’ संस्थापन पक्षका एक नेताले नेपाली बहस डट कमसँग भन्नुभयो ‘पार्टीलाई एक ढिक्का राख्न सकियो भने विवाद बढेका बेला एक अर्काका विरुद्ध गरिएका व्यवहारको माफी मिनाहा पनि हुन्छ ।’

यसैगरी अन्य विषयमा सहमती भएमा आफ्नै हस्ताक्षरका कारण कथंकदाचित शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभयो भने पनि उहाँलाई विश्वासको मत नदिएर एमाले एक ढिक्का बनाउने रणनीति माधव पक्षको छ । माधव पक्षको कार्यदलका एक सदस्यले भन्नुभयो ‘अब हामी सहमतिमा फर्कनु भनेको विवादको पल्लो डिलबाट पछि हट्नु हो । यस क्रममा भएका गतिविधिमा दुवै पक्षले प्रश्न नउठाउने र सहमति भएका दिनदेखि पार्टीको निर्णयलाई कार्यान्वयन गरेर जाने कुरामा सबै प्रतिवद्ध छौं ।’

यसैबीच हिजो प्रधानमन्त्रीले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा परामर्श गर्नुभएको छ । अदालतले मन्त्रीहरुको बर्खास्दगी गरेको त्यसयता उत्पन्न राजनीतिक परिस्थितिका बारेमा स्थायी कमिटी सदस्यहरुको धारणा प्रधानमन्त्रीले सुन्नु भएको छ ।