अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङको देवल विमानस्थलको सुरक्षा चुस्त बनाइने

बझाङको देवल विमानस्थलको सुरक्षा चुस्त बनाइने


बझाङ- विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाइने निर्णय गरेको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो ।

पशुपंक्षी तथा सर्वसाधारण विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले रोक्न नयाँ योजनाअघि सारिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

जतिबेला पनि विमानस्थलभित्र मानिसको आवतजावत तथा पशुपंक्षीहरू चराउने तथा धूमपान, मध्यपान गर्न विमानस्थल क्षेत्रमा छिर्ने गरेकाले सुरक्षा चुनौती बढेकाले विमानस्थल प्रवेश गर्दा पासको व्यवस्था गर्ने उहाँले बताउनु भयो । साथै अध्यक्ष आचार्यले भन्नुभयो, ‘विमानस्थलभित्र विना काममा प्रवेश गर्ने, क्रिकेट खेल्ने, गोरु चराउने, फोटो खिच्ने, टिकटक बनाउने, अफिस भित्र जाने कार्य भएकाले यसलाई रोक्न जरुरी छ । विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा मदिरा सेवन गरेर आउने, गुट्टका खाएर कार्यालय परिसरमा थुक्ने जस्ता काम भएका छन ।’

विमानस्थलमा हाल ११ जना सुरक्षाकर्मी भए पनि त्यो पर्याप्त नभएको सुरक्षाकर्मीको भनाइ छ ।

कतिपय अवस्थामा आकस्मिक रूपमा विमान अवतरण यही गर्नुपर्ने हुन्छ । समिट एयरलाइन्स बझाङका सञ्चालक किशोर खड्काले विमानस्थल घेरबारका काटिएका तारहरु पुनः मर्मत गरेर स्थानीयलाई भित्र प्रवेशमा रोक लगाउनु पर्ने बताउनुभयो ।

बुधबार बाट विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थल भित्र जान नपाउने लगायतका निर्णयहरू भए पनि स्थानीय तहका प्रमुखसँगको छलफलपछि मात्रै कार्यान्वयनमा लैजाने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।