काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालसहित तीन टिमले खेल्ने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार नामिबियामा कोरोना भाइरसले स्थिति असहज भएपछि सिरिज स्थगित गर्नु परेको हो ।
नामिबिया क्रिकेट टिमका चारभन्दा बढी खेलाडीलाई कोरोना संक्रमण देखिएपछि तत्काल सिरिज गर्न गाह्रो भएको हो ।
बिहीबार आईसीसीले नामिबियामा कोभिडका कारण तयारी गर्न असम्भव भएको र यात्रा प्रतिबन्धलाई अझ कडा पारिएका कारण सिरिज स्थगित गर्नु परेको जनाएको छ ।
सिरिज आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो । सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण सुरु गरेको थियो ।
सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो । यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो । त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुँदै थियो ।
कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो ।
प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ । २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए ।
सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो ।
प्रतिक्रिया