अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब १० करोडको बजेट

विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब १० करोडको बजेट


मोरङ- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो ।

आगामी वर्ष चालूतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ । महानगरले चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब २३ करोड, ३ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

चालू वर्षको बजेट १० महिनामा १ अर्ब ३३ करोड २९ लाख २१ हजार मात्रै खर्च भएको छ । तीन अर्ब ६३ करोड पूँजीगत बजेट १० महिनामा ८८ करोड ५४ लाख ९१ हजार मात्रै खर्च भएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

महानगरले ९५ करोड आन्तरिक आय हुने अनुमान गरेको थियो । तर १० महिनामा ३१ करोड ३८ लाख मात्रै आन्तरिक आम्दानी भएको छ ।

आगामी वर्षका लागि पूँजीगत बजेटमध्ये पूर्वाधार विकासका लागि महानगरले २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

महानगरले वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।