अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा : देउवा

प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा : देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनुभएको छ ।

विपक्षी गठबन्धनले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको आजको अन्तरक्रियामा उहाँले प्रतिनिधिसभाका बहुमत १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार आफूहरूले प्रधानमन्त्रीका लागि दाबीसहित पेश गरेको आवेदन अस्वीकार गर्नु लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको टिप्पणी गर्नुभयो ।

सो अवसरमा सभापति देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको अवगत गराउनुभयो ।

सरकारबाट भएका कतिपय कार्य र निर्णय अदालतबाट रोकिएको जनाउँदै पूर्वप्रधानमन्त्रीले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई आफूहरुले साझा गन्तव्यका रुपमा लिएको बताउनुभयो ।

आवश्यक परेमा जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्ने उहाँले बताउनुभयो । सभापति देउवाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै मुलुकका बारेमा नेपालीले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्ने मान्यता स्पष्ट गर्नुभयो ।

सरकारबाट दुई/दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायत राज्य संयन्त्रमाथि हस्तक्षेप गर्ने, कोरोनाविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि प्रभावकारी पूर्व तयारी नगर्ने काम भएको सभापति देउवाको आरोप थियो ।