अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिकूल मौसमका बाबजुद पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य

प्रतिकूल मौसमका बाबजुद पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य


काठमाडौं- मनसुनी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ ।
मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौंको आकाशलाई पूर्णरूपमा बादलले ढाकेको छ ।

प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।

निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ । अन्तर्राष्ट्रिय उडानको भिजिबिलिटी २ हजार ५ सय रहेको छ । त्यो उडानका लागि उपयुक्त हुन्छ । अन्तर्राष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन् । काठमाडौं अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडान मात्रै भइरहेको छ ।

सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ ।

कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो । आन्तरिक उडान वैशाख २० र अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो ।