अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा भोट हाल्न मास्क खोलेर जान पाइन्छ : गृहमन्त्री पौडेल

निर्वाचनमा भोट हाल्न मास्क खोलेर जान पाइन्छ : गृहमन्त्री पौडेल


रूपन्देही- गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन अघि नै सबै नागरिकले कोरोना खोप पाउने बताउनुभएको छ ।

उहाँले निर्वाचनको समयसम्ममा जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउनेसमेत दाबी गर्नुभयो ।

गृहजिल्ला रूपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गर्नुभयो ।

संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा परेको बताउनुभयो ।

उहाँले सरकारले निर्वाचनमा गरेको वाचाअनुसार विकासका नयाँनयाँ काम गरेको पनि बताउनुभयो । ‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम भएका छन्, अझै हुन्छन् सवैले अनुभूति गरेका छन्,’ मन्त्री पौडेलले भन्नुभयो ।

कोभिड विरुद्धको खोप छिटोभन्दा आपूर्ति गरेर जनतालाई लगाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले खोपको प्रकृया सुरु भएपछि बीचमा रोक्न नपर्ने गरी काम भइरहेको बताउनुभयो ।

बि.सं २०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोचलाई सुरुमा कतिपयले विश्वास नगरी चुनावी प्रचार जस्तै ठानेको स्मरण गर्दै मन्त्री पौडेलले अब योजना अगाडि बढेको बताउनुभयो ।