अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मर्स्याङ्दीको धारलाई पुरानै लयमा फर्काउन मुश्किल

मर्स्याङ्दीको धारलाई पुरानै लयमा फर्काउन मुश्किल


मनाङ- जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मेहम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो ।

अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ ।

वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुश्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । पेत त आइपुग्यो । काम गर्न सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै गाह्रो भयो ।’

मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेसिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

नदीको धारलाई परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठीन भएको उहाँले बताउनुभयो । निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएको काठहरुले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उहाँको भनाइ छ । ‘सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ, कसरी समस्या समाधान गर्ने भन्ने भएको छ,’ उहाँले भन्नुभयो ।

उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आएपनि प्रतिकूल मौसमले साथ दिएको छैन ।

बाढीपहिरोका कारण बेसीशहर-चामे सडक अवरुद्ध हुदाँ जिल्ला सडक सञ्जालबाट पूर्ण रुपमपा विच्छेद भएको छ ।

गत ३१ जेठ रातिदेखि परेको अविरल वर्षाका कारण पूरै सडक खण्ड अवरुद्ध भएका थिए । अहिले सडक विभागले बेसीशहरदेखि १८ किलोमिटरसम्म बाटो खुलाएको छ भने बाँकी अवरुद्ध खण्डको हटाउने प्रयास जारी छ ।

विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, न सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका बीच छलफल भएको थियो ।

मनसुन सुरु भएदेखि आएको बाढीपहिरोका कारण आएको विपद् हाल माथिल्लो मनाङतर्फ देखिएको स्थानीय बताउँछन् ।

बाढीपहिरोको प्रभाव सुरुवाती चरणमा जिल्लाको तल्लो भागमा बढी देखिएको थियो भने हाल आएर माथिल्लो भागमा देखिएको छ । अहिले हुम्डे, पिसाङ, माथिल्लो मनाङमा बस्तीहरूमा क्षति पुर्‍याउदै गएको जनाइएको छ । रासस