अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलालगत्तै माओवादीसँग माधव नेपालको एकता !

सर्वोच्चको फैसलालगत्तै माओवादीसँग माधव नेपालको एकता !


काठमाडौं– एमालेको विद्रोही भनेर रुचाउने नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य सुरु गर्नुभएको छ ।

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार सर्वोच्च अदालतको फैसलालगत्तै नेपालले माओवादी केन्द्रसँग एकता टुंगो लगाउने तयारी गर्नुभएको छ । नयाँ पार्टी निर्माण र माओवादी केन्द्रसँगको एकताका लागि केही नेताहरुले बलियो साथ दिएका छन्, तर नेपालले एमाले परित्याग गर्नेवित्तिकै एउटा समूह फर्किने आंकलन संस्थापनले गरेको छ ।

उच्च स्रोतका अनुसार फैसलापछि नेता नेपालको समूह एमालेबाट कारबाहीमा पर्ने निश्चित छ । ‘सकभर कारबाही नहुँदै नेकपा एकीकृत वा नेकपा लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा हुनेछ,’ स्रोत भन्छ, ‘त्यसको केही समयपछि माओवादी केन्द्रसँग एकता गर्ने रणनीति छ ।’

माओवादी केन्द्रका एक उच्च नेताका अनुसार अध्यक्ष प्रचण्डले नेता नेपाललाई एकल अध्यक्ष स्वीकार गर्ने आश्वासन दिनुभएको छ । ‘अहिले माधव नेपाल प्रचण्ड–शेरबहादुरसँग अडिनुको भर त्यही हो,’ ती नेताको भनाइ छ, ‘एकीकृत पार्टीले चुनावमा कांग्रेससँग सहकार्य गरेर जाने रोडम्याप छ । यो रोडम्यापमा देउवा पनि सहमत हुनुहुन्छ ।’

नेता नेपालले आफूनिकट केही नेताहरुसँग अबको चुनावमा एकीकृत पार्टी दोस्रो दल बन्ने दाबी गर्नुभएको थियो । उहाँले एमाले अध्यक्ष ओली र उहाँपछि पनि नेतृत्व त्यही समूहमा जाने बताउँदै फरक दल र अभ्यास जरुरी रहेको बताउनुभएको थियो । नेता नेपालले आफूले नेतृत्व गरेको दलले कांग्रेससँग मिलेर राम्रो पोजिसन ल्याउने ब्रिफ गर्नुभएको छ ।

नेपाललाई डर र भर

नेता नेपालको नयाँ पार्टीमा केही नेताहरु भने नजाने हुन् कि भन्ने आशंका नेपालले गर्नुभएको ती नेताको भनाइ छ । नयाँ पार्टीमा योगेश भट्टराई नजाने निश्चित भए पनि सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र गोकर्ण विष्टलाई कन्भिन्स गरिएको छ । पाण्डे, भूसाल र विष्ट भने सकभर एमालेभित्र रहनुपर्ने पक्षमा हुनुहुन्छ ।

नेपाल निकट स्रोतका अनुसार राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरालगायतले पनि नेपाललाई साथ नदिने निश्चित जस्तै भएको छ । तर, एमालेको पदाधिकारी रहनुभएका भीम रावल, युवराज ज्ञवालीदेखि वामदेव गौतमले साथ दिनुहुने भएको छ । प्रकाश ज्वाला, भीम आचार्यलगायतका नेताहरु पनि नयाँ पार्टीको पक्षमा हुनुहुन्न ।

अर्को संशय

नेता नेपालसँग अर्को संशय पनि रहेको पाइएको छ । देउवाले अबको चुनावमा प्रचण्ड–माधवको पार्टीलाई साथ दिने आश्वासन दिए पनि कांग्रेसको महाधिवेशनमा आउने नयाँ नेतृत्वबारे पनि चर्चा भएको छ । देउवाले गरेको सहमति अरु नेताहरु पालना गर्न बाध्यकारी नहुने चर्चा भएको थियो । कांग्रेसमा रामचन्द्र पौडेल सभापति भए गठबन्धनमा सकस आउने आंकलन गरिएको छ ।