सङ्खुवासभा- सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका कालीकोटको तिलागुफा नगरपालिका-४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिनुभयो ।
कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको थियो ।
गत असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरीङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका-२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए ।
कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







प्रतिक्रिया