अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शीर्ष नेताहरूको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गयो : उपसभापति गच्छदार

शीर्ष नेताहरूको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गयो : उपसभापति गच्छदार


काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताउनुभएको छ ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

‘शीर्ष नेताहरूको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ,’ उहाँले भन्नुभयो । संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको उहाँको भनाइ थियो ।

पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उहाँले बताउनुभयो । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काग्रेस बलियो हुनुपर्ने बताउनुभयो । ‘कांग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि कांग्रेसका सबै नेता तथा कार्यकर्ताको उत्तिकै दायित्व छ,’ उहाँले भन्नुभयो ।

पूर्वमन्त्री खाँडले नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्ने बताउनुभयो । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुने उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वविना पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको उहाँको भनाइ थियो । उहाँले पार्टीभित्रको गुट उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता डा गोविन्दराज पोखरेलले कांग्रेसभित्रको आगामी नीति र नेतृत्व कस्तो हुन्छ भन्ने बारेमा बहस हुनु जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले कांग्रेसले आगामी महाधिवेशनलाई सहमति, सहकार्य र एकताको महाधिवेशन बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सभापति र प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो ।