अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कमल गाउँपालिका-५ को कार्यालय भवन उद्घाटन

झापाको कमल गाउँपालिका-५ को कार्यालय भवन उद्घाटन


झापा- जिल्लाको कमल गाउँपालिका-५ को कार्यालय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पाडाजुङ्गी चोक पूर्व पाथीभरा चोकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालय भवनको १ नं प्रदेशसभाका सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले उद्घाटन गर्नुभयो ।

उपभोक्ता समितिमार्फत प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु ५४ लाख गरि कूल रु ७९ लाखको सभाहलसहित छकोठे एकतले पक्की वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिनुभयो । भवन उद्घाटनपछि आजदेखि नै कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएको उहाँले बताउनुभयो । यसअघि वडा कार्यालय पाडाजुङ्गीस्थित भाडाको घरमा थियो ।

भवन निर्माणका लागि स्थानीयवासी सन्तोष, राजकुमार, नरेन्द्र, विष्णु, प्रेम र कृष्ण कार्की दाजुभाइले आफ्ना दिवङ्गत पितृ चीनबहादुर र चन्द्रकला कार्कीको स्मृतिमा करीब रु ३० लाख मूल्य पर्ने सो जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

विसं २०७७ वैशाख २७ गते शिलान्यास गरिएको भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नाका साथै जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको थियो ।