अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोकाको आँसु पुछ्दै पल शाह

भोकाको आँसु पुछ्दै पल शाह


महोत्तरी- विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्‍याउनुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका-१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पुर्‍याउनु भएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका १०० घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् ।

कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरुलाई वितरण गर्नुभयो ।

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पार्नुभयो । भोकले स-साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् ।

भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुग्नु भएका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आफू आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताउनुभयो ।

एक साताअघि गौशाला–४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो ।

सो सहयोगबाट जिल्लाका १०८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ ।