अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले निलो स्यालको उपमा कसलाई दिएको होला ?

प्रधानमन्त्रीले निलो स्यालको उपमा कसलाई दिएको होला ?


काठमाडौं- मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई अनेक उपनाम दिएर भाषण गर्नुभयो । उहाँले माधव नेपालको नामै किटेर ‘प्रचण्डको मामुली कार्यकर्ता’, ‘अराजक अनुशासनहीन’, ‘इमान नभएको मान्छे’ भन्नुभयो । त्यती मात्र होइन नेपालले विपक्षी गठबन्धनका अनेक मञ्चहरूमा मलाई केपी ओलीबाट प्रधानमन्त्रीको अफर आएको तर आफूले नमानेको बताउनुभएको थियो । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुला कुकुरले टोकेको छ ?’ भन्नुभयो ।

करिब दुई घण्टा ३० मिनेट बोल्नुभएका प्रधानमन्त्री ओलीले कार्यक्रममा एउटा निलो स्यालको कथा पनि सुनाउनु भयो । तर, त्यो कुन नेताको चरित्र चित्रण हो भनेर धेरैले मेसो पाएनन् । कथा सुरु हुनुभन्दा अघि जनयुद्धको सानो प्रसँग सुनाएकोले कतै प्रचण्डलाई लक्षित गरेको हो कि भन्ने अनुमानचाँहि धेरैको धेरैले गरे ।

प्रधानमन्त्रीले भनेको निलो स्यालको कथा यस्तो थियो

निल वर्ण संगाल कथा छ एउटा । एउटा निलो वर्णको रंग लगाउने डाइटपमा पानी खान एउटा स्याल गएछ । झुक्किएर उ त्यहाँ डुब्यो । निस्कदा ऊ निलो भएर निस्कियो । जंगलतरि फर्केर जाँदा के हो यो त निलो छ । यस्तो निलो जनावार त देखेको थिएन भनेछन अरू जनावरले । निलो रंगको जनावारले म विशेष प्रकारको जनवार हुँ भन्यो । त्यो बाघहरूको हुलमा गएछ । उनीहरूले पनि ए के आयो यो भने । को हो यो भने । उसले म जंगलको राजा हुँ भन्यो । निल वर्णको म मात्रै यस्तो जीव हुँ, मभन्दा श्रेष्ठ अरू कोही छैन भन्यो । म निल वर्णको हुँ भन्यो । सबैले पत्याउँदै गए । गफै दिइराखेको थियो । अलिकति साँझ परेपछि अलि पर स्याल कराएछ । स्यालको आवाज सुनेपछि त्यो निलवर्ण भएको स्याल पनि ठाडो घाँटी लाएर कराउन थाल्यो । स्यालको एउटा धर्म के हुन्छ भने एउटा स्याल कराएपछि अर्को नकराइ हुँदैन । अनि त्यो स्याल पनि ठाडो घाँटी लगायो र हु… हुु… गर्न थालेपछि बाघले झप्पु दिएर इहलिला समाप्त पारिदिएछ ।