काठमाडौं- नेकपा एमालेको विवाद मिलाउने अन्तिम प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटघाट हुने भएको छ ।
बिहीबार साँझ बसेको कार्यदलको बैठकले करिब करिब सहमतिको खाका तयार गरिसकेको र यसलाई अन्तिम रुप दिन र मन माझामाझ गर्न दुई नेतालाई भेटघाटको वातावरण बनाउने निर्णय गरेको छ । कार्यदलका एक नेताले दिएको जानकारी अनुसार माधव पक्षले भोलिको पार्टी केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने र हिजो स्थायी कमिटीमा मनोनीत भएका आठ जनाको मनोनय विधि उपयुक्त नभएकोले फिर्ता लिनुपर्ने अडान लिएको छ ।
संस्थापन पक्षले पार्टी र संगठन गतिशिल भएकोले कहिलेकाँही विवाद आउँदैमा संगठन र सांगठनिक प्रक्रिया नरोकिने भन्दै मनोनयलाई स्विकारेर जानुपर्ने बताएको छ । ‘स्थायी कमिटीमा मनोनित भएका अनुहार हेरेर पनि उहाँहरुले यस विषयमा प्रश्न नउठाउनु पर्ने हो’ संस्थापन पक्षका एक नेताले भन्नुभयो ।
एमालेका सचिव एवं कार्यदलका सदस्य भीम आचार्यका अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच आजै रातिसम्ममा वा भोलि बिहान टेलिफोन संवाद गरेर त्यसपछि भेटघाटको समय तय हुनेछ । ‘एक आपसमा भेटेर सहमति खोज्न दुवै नेता राजी हुनुहन्छ,’ आचार्यले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘कुन विषयमा कसरी सहमति गर्ने भन्ने मोटामोटी खाका हामीले बनाएका छौं । त्यस भन्दा नयाँ ढंगले उहाँहरुले सहमति खोज्न पनि सक्नुहुन्छ । ’
आचार्यका अनुसार आफूहरुले अनुसार केन्द्रीय कमिटी स्थगित गरेर माधव पक्ष सहितको स्थायी कमिटी बस्ने र त्यस बैठकले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न प्रस्ताव गरेको बताउनुभयो । तर संस्थापनले यो प्रस्ताव स्विकारेको छैन । ‘हामीले बिहानै पर्याप्त छलफल गरेका थियौं । उहाँहरुले आन्तरिक केही छलफल गर्छौं भनेकोले त्यसपछि बेलुका बसिएको हो,’ आचार्यले भन्नुभयो ‘बेलुका ५ बजेदेखि करिब डेढ घण्टा बसेर हामी उठेका हौं ।’
‘हामीले दुवै नेतालाई तपाईंहरु भेटेर भावी स्टेपिङ पनि तयार गर्नुहोस, प्याकेजिङ पनि तयार गर्नुहोस भनेका छौं,’ सचिव आचार्यले भन्नुभयो, ‘कार्यदलले धेरै कुरामा छलफल गरेर अब दुई नेतालाई भेट गराउने अवस्थामा पुगेको छ । आशा गरौं अब सहमति टाढा छैन ।’







प्रतिक्रिया