काठमाडौं -सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताउनुभयो ।
सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् ।
‘खोप खरिदको सम्झौताअनुसार असार २४ बाट सुरु भएपछि साप्ताहिक रूपमा खोप आपूर्ति गर्ने तयारी छ,’ स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ । जहाजले असार २५ गते १० लाख मात्रा खोप ल्याउने महानिर्देशक पौडेलले जानकारी दिनुभयो । दोस्रो चरणमा असार ३१ मा जहाज पठाएर साउन १ मा १० लाख डोज ल्याइनेछ । तेस्रो चरणमा साउन ७ मा जाने जहाजले भोलिपल्ट अर्को १० लाख डोज खोप ल्याउनेछ ।
खोपको पर्खाइमा बसेका आम नेपाली सरकारले अब नियमित रुपमा खोप आपूर्ती गर्ने खबर सुनेर खुशी भएका छन् । सरकारले आगामी असोजसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रतिक्रिया