अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटन सम्बन्धी मुद्धामा सभामुखका तर्फबाट आज जवाफी बहस हुने

संसद विघटन सम्बन्धी मुद्धामा सभामुखका तर्फबाट आज जवाफी बहस हुने


काठमाडौं -संसद् विघटन र प्रधानमन्त्री नियुक्तीसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट जवाफी बहस सुरु हुने भएको छ।
सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नुहुनेछ ।
निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो।
यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए।

गत असार ९ गतेबाट बहस सुरु भएको हो। सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए।
जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ। जवाफी बहस आजै सकिने सम्भावना कम छ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दै छन्।

उनीहरूको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला आउनेछ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पेस गरेको दाबी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसदै विघटन गरेपछि सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।