अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हस्ताक्षर फिर्ता लिन एमाले सांसदलाई दिएको समय आज सकिँदै, कारबाही के हुन्छ ?

हस्ताक्षर फिर्ता लिन एमाले सांसदलाई दिएको समय आज सकिँदै, कारबाही के हुन्छ ?


काठमाडौं– नेकपा एमालेका सांसदहरुलाई सर्वोच्च अदालतबाट हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमा आज सकिँदैछ । माधव नेपाल समूहका २३ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएका छन् ।

उहाँहरुलाई आजसम्ममा हस्ताक्षर फिर्ता गर्न शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले सोमबारसम्मको म्याद दिएको थियो । तर माधव समूहले अहिलेसम्म हस्ताक्षर फिर्ता गर्ने सुरसार देखाएको छैन । उल्टै शनिबारको केन्द्रीय कमिटी बैठकले गरेका सबै निर्णय खारेज हुनुपर्ने माग माधव पक्षले राखेको छ ।

शनिबार राति करिब दुई घण्टा प्रधानमन्त्रीसँग भेट्नुभएका एमाले उपाध्यक्ष भीम रावल पनि पार्टीमा सहमति खोज्ने विषयमा सकारात्मक देखिनुभएको छ । माधव पक्षका नेताहरुका अनुसार करिब दुई हप्ता देखि उहाँ बाहिर कडा रुपमा प्रस्तुत भए पनि पार्टीमा सहमति खोज्ने विषयमा एकाएक लचिलो हुनुभएको छ । ‘उहाँ पक्षका अरु नेताहरुले माधव नेपाललाई सम्झाउन सक्नुभएन । भीम रावलले माधव कमरेडलाई सम्झाउन सक्नुहोला कि भनेर प्रधानमन्त्रीले बोलाउनुभएको हो,’ बालुवाटार स्रोतले नेपाली बहस डटकमसँग भन्यो ।

एमाले सचिव भीम आचार्य पार्टीमा करिब सहमति भइसकेपनि नेताहरुको इगोका कारण कार्यन्वयन हुन नसकेको बताउनुहुन्छ । ‘माधव कमरेड प्रधानमन्त्रीसँग भेट्नै नमान्ने, प्रधानमन्त्री पार्टी बैठक गरेर निर्णय गर्दै जाने समस्या यहीं भएको हो,’ आचार्यले भन्नुभयो, ‘संसद विघटन र हस्ताक्षरको कुरा उपयुक्त समयमा समिक्षा गरौंला तर अहिले भविष्यका कुरा गरेर अघि बढौं भन्ने हाम्रो मान्यता हो ।’

एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ दुवै पक्षका नेताहरुले सहमतिका सबै सुत्रहरु तयार गरिसकेको तर माधव नेपालको मन मिलाउन नसकेको बताउनुहुन्छ । ‘धेरै कुरा मिलेका छन् तर माधव कमरेडको मन मिलाउन सकिएन,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो ‘ आशा गरौं माधव कमरेडको मन एमालेतिरै फर्कन्छ ।’

पार्टीले दिएको समयसिमा भित्र साँसदहरुले हस्ताक्षर फिर्ता नलिए त्यो ‘रेकडर्’मा रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाको भनाइ छ । ‘पार्टीले दिएको निर्देशन कसले मान्यो मानेन भन्ने कुरा रेकर्डमा रहँदै जान्छ । उपयुक्त समयमा त्यस कुरालाई विधानले निक्र्यौल गर्छ,’ थापाले भन्नुभयो ‘आजको आजै एक्सन हुनुपर्दछ भन्ने छैन ।’