काठमाडौं- राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने कदम उपयुक्त भएको बताउनुभएको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै दाहालले चुनाव जसले गराए पनि गराउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने चुनाव निष्पक्ष नहुने हल्ला गरिएको बताउँदै उहाँले प्रश्न गर्नुभयो, ‘यदि केपी ओलीले गरेको चुनाव निष्पक्ष हुँदैन भन्ने लागेको हो भने देउवाले गरेको निर्वाचन कसरी निष्पक्ष हुन्छ? जनताले पत्ताएका केपी ओली र आधा सिट मात्र जितेका शेरबहादुरले गराएको चुनाव विश्वासिलो हुन्छ? विचार गरौं ।’
विपक्षी गठबन्धनको ध्यान चुनावमा जानेतर्फ नभएको उहाँले बताउनुभयो । निर्वाचन कठिन परीक्षा भएको भन्दै उहाँले भन्नुभयो, ‘विपक्षी गठबन्धन भनिएका कसैसँग पनि जनताको अदालतमा जाने र जनतासँग फेस गर्ने हिम्मत देखिएको छैन, बरु अनधिकृत ढंगले अर्को पार्टीको सांसद्लाई प्रभाव पारेर अर्को पार्टीको अन्तरविरोधलाई प्रभाव पारेर १ वर्ष भएपनि सरकार चलाउला भन्ने होला ।’
केही व्यवसायिक वकिलहरूलाई प्रयोग गरेर सर्वोच्च अदालतबाट प्रधानमन्त्री बन्ने दाउमा विपक्षी गठबन्धन लागेको पनि उहाँले बताउनुभयो । सांसद दाहालले विपक्षी गठबन्धनका वकिलहरूले हु इज राष्ट्रपति? भनेकोमा असन्तुष्टि जनाउनुभयो । राष्ट्रपति नै नचिन्ने व्यक्तिहरू सच्चा वकिल हुन नसक्ने दाहालको भनाइ छ ।
सरकारले राम्रो काम गरेको विपक्षीले देख्नै नसकेको बताउँदै दाहालले भन्नुभयो, ‘अचम्मै लाग्छ विपक्षीको दृष्टि र श्रव्य कस्तो? अनि सोचाइ कस्तो? राम्रो गरेको देख्दै नदेख्ने, राम्रो बोलेको सुन्दै नसुन्ने र बुझ्दै नबुझ्ने ।’
साथै, उहाँले आफ्नो पार्टीको निर्णय विपरित एमालेका नेतहरु राष्ट्रपति कार्यालय र अदालतमा नचाहिँदो तरिकाले लाइन लागेको बताउनुभयो ।
मलाई प्रधानमन्त्री बनाउनु पर्यो भनेर विपक्षी दलका नेता राष्ट्रपतिसम्म जानु ठीकै भए पनि अर्को पार्टीका सांसदको हस्ताक्षर लिएर अदालतसम्म धाउनु विडमम्बनापूर्ण भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभाले एक आपसमा लुकामारी खेलेको बताउनुभयो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक एकैसाथ नबसे देशले कानुन नपाउने उहाँले बताउनुभयो ।
उहाँले सरकारले गरेको राम्रा काम देख्दै नदेख्ने प्रतिपक्षीमा दृष्टिभ्रम रहेको उहाँले बताउनुभयो । सरकारले कोभिड विरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य दाहालले कोभिड-१९ र विभिन्न प्राकृतिक विपदबाट ज्यान गुमाउनुभएका सबैलाई श्रद्धाञ्जलि र विरामी तथा घाइतेको शीघ्र स्वाथ्यलाभको कामना पनि गर्नुभयो । उहाँले राहत र पुनस्थापनाका लागि पनि सरकारसँग माग गर्नुभयो ।







प्रतिक्रिया