काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । बैठकको विशेष समयमा उहाँहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गर्नुभयो । साथै नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उपयुक्त हुने एकथरीको धारणा थियो भने अर्काथरीले संविधानअनुसार हुने निर्वाचनले मात्र लोकतन्त्रको रक्षा गर्ने र गैरसंवैधानिकरुपमा हुने निर्वाचनले लोकतन्त्र नै नष्ट हुने धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले पुनःस्थापित प्रतिनिधिसभाले यसअघि प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनमै जानुपर्ने बताउनुभयो ।
नयाँ जनदेशका लागि सबै दल अब निर्वाचनमा नै जानु उपयुक्त हुने उहाँको तर्क थियो । उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच लुकामारी खेलेजस्तो भएको भन्दै दुवै सभा एकैपटक सञ्चालन नभएसम्म कानून निर्माण हुन नसक्ने बताउनुभयो । अहिले संसदीय राजनीतिक व्यवस्थाका नाममा गैरसंसदीय गतिविधि भइरहेको जनाउँदै सांसद दाहालले आफ्नै दलका नेतालाई प्रधानमन्त्रीबाट हटाउन अदालतमा लाइन लागेको दृश्य अनौठो देखिएको धारणा व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस सांसदका रमेशजंग रायमाझीले सरकारले कोरोना सङ्क्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेर आरोप लगाउनुभयो । उहाँले अहिले मुलुकमा भ्रष्टाचारले जरा गाडेको आरोप लगाउँदै कोरोनाविरुद्धको खोप खरीदमा पारदर्शिता कायम हुनुपर्ने माग गर्नुभयो । फरक प्रसङ्गमा सांसद रायमाझीले संसद्बाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी सरकारसँग प्रश्न गर्नुभयो ।
साथै, उहाँले प्रधानमन्त्रीले कानून निर्माण गर्ने जनप्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको आरोपसमेत लागाउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा अधिवेशन तत्काल अन्त्य नगर्न आग्रह गर्दै प्रतिनिधिसभा नभएका बेला यस सभालाई लोकतन्त्रको रक्षा र जनताको आवाज उठाउने थलोका रुपमा निरन्तरता दिइयोस् भन्नुभयो ।
साथै, उहाँले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विषेशाधिकार संविधानले नदिएको तर्क गर्दै नयाँ सरकार बन्ने अवस्था नभएपछि मात्र अन्तिममा मात्र प्रतिनिधिसभा विघटन हुने व्यवस्था संविधानले स्पष्ट गरेको बताउनुभयो ।
सांसद श्रेष्ठले संविधानको धारा ७६ (२) र ७६ (५) फरकफरक भएको उल्लेख गर्दै एउटै हो भन्नु संविधानलाई विगत पार्नु हो भन्नुभयो । धारा ७६ (५) सांसदलाई विशेषाधिकार प्रयोग गर्ने व्यवस्था हो भन्दै उहाँँले संविधानले राष्ट्रपतिलाई अलङ्कारिकरूपमा राखेको र स्वविवेकको अधिकार नदिएको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड-१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवं निर्वाचनको विषयमा केन्द्रित गरी आवाज मुखरित गरिएको छ ।
त्यस्तै, जनता समाज पार्टीका शेखर सिंहले बाढी, पहिरो र डुबानमा परेका जनतालाई सहयोगका लागि आह्वान गर्नुभयो । सोही पार्टीका उदया शर्मा पौडेलले ढुङ्गा, गिटी र बालुवाको अवैध उत्खनन, विस्तृत परियोजना प्रतिवेदनबिना अन्धाधुन्धरुपमा खनिएका सडकका कारण वर्षेनी बाढी, पहिराका घटनाबाट ठूलो धनजनको क्षति भएका जनाउँदै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सोही दलका विमला राई पौडेलले आम जनताले सङ्घीयताको अनुभूति गर्ने ढङ्गबाट अपाङ्गता भएका र अशक्त ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर कोरोनाको खोप दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद डा. खिमलाल देवकोटाले इमान्दार र सत्य निष्ठामा बसेनौँ भने संविधानको संरक्षण र सम्बद्र्धन हुन नसक्ने बताउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता गर्नमा सरकारको प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले)का रामलखन चमारले राष्ट्रिय दलित आयोगमा संविधानको मर्म र भावनाअनुसार समानुपातिक र समावेसी सिद्धान्त विपरीत नियुक्ति भएकाले सच्याउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै राजनीतिक दलबाटै न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको छ, अहिलेको राजनीतिक निकास प्रतिनिधिसभाबाट पुनः स्थापनाबाट सम्भव छैन, निर्वाचनबाट मात्रै समस्या समाधान हुन सक्छ ।”
नेपाली कांग्रेसका दृगनारायण पाण्डेयले गणतन्त्र र सङ्घीयता विरोधमा उठेको आवाजलाई निस्तेज तुल्याउन लोकतान्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र राष्ट्रिय सहमति हुन आवश्यक छ भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का खिमकुमार विकले संविधानमा भएको व्यवस्था र सरकारले चालेका कदमकोे विश्लेषण हुनुपर्छ, राजधानीको मुटुमा दलित समुदायलाई अपमान हुने गरेको उल्लेख गर्नुभयो ।
नेकपा(एमाले)की कोमल ओलीले विगतमा कमीकमजोरीसँग जोडेर वर्तमान सरकारको मूल्याङ्कन गर्ने र दोष लगाउन उचित नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विगतमा राजनीतिक दम्भका कारण माओवादीबाट धेरै जनताको ज्यान गएको र धेरै सम्पत्ति नष्ट भएको थियो, अब पनि पद प्रतिष्ठा र पैसाका लागि जे पनि गर्ने सोच संसदीय र प्रजातन्त्र विपरीत छ ।
आफू पनि केही नगर्ने अर्कालाई पनि काम गर्न नदिने प्रवृत्ति गलत छ, यसलाई रोक्नुपर्छ । सोही पार्टीका चक्रप्रसाद स्नेहीले डडेलधुराको परशुराम नगरपालिकास्थित आधारभूत स्वास्थ्य चौकीकी सहयोगी २६ वर्षीया अस्मिता धामीको मृत्युबारे निष्पक्ष छानबिनका लागि माग गर्नुभयो ।







प्रतिक्रिया