काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुनेमा जोड दिनुभएको छ ।
सप्तरीको राजविराजस्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो । यसलाई हामीले मनमुटावको विषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’
प्रधानमन्त्री ओलीले सरकारले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको पनि बताउनुभयो । ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरूमा सिञ्चाइको प्रबन्ध हामीले गर्यौं,’ उहाँले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौँ । विकासका कामलाई अगाडि बढाउन सक्छौँ ।’
साथै, उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम छिट्टै सुरु हुनेसमेत बताउनुभयो । ‘भवन निर्माणको काम छिट्टै र गुणस्तरीय रूपमा सम्पन्न हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास पनि व्यक्त गर्नुभयो ।







प्रतिक्रिया