अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट पारित भएपछि सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री पोखरेल

बजेट पारित भएपछि सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री पोखरेल


गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता एवम् शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै प्रदेश सभा सञ्चालन गरेर बजेट माथि छलफल शुरु गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ । ‘सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवम् कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्ययीतता अपनाउने र मूल्य एवम् क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहनुभएको छ ।

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका-३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । यसैगरी मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका-१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।