काठमाडौं- नेकपा एमालेमा विवाद समाधानका लागि गठन गरिएको संयुक्त कार्यदलले साँझसम्म दुई शीर्ष नेताको बक्तव्य जारी गर्ने गृहकार्य गरेको छ ।
कार्यदलको बैठक अगाडि बिहीबार बिहान केपी शर्मा ओली र माधव नेपाल पक्षका तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल र माधव पक्षका कार्यदल संयोजक भीम रावलबीच २ घण्टा छलफल भएको हो । छलफलमा स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि सहभागी हुनुभएको थियो ।
कार्यदलमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच हिजोको वार्तापछि विकसित अवस्थामा कार्यदलले थप गृहकार्य गर्नेछ । ‘कार्यदल आफ्नो काममा अविचलित ढंगले लागेको छ ’ नेम्वाङले भन्नुभयो ‘हिजोको विकसित घटनाक्रमलाई लिएर आज थप छलफल गर्छौं । सकेसम्म आज सबै कुरा टुंगोमा पुग्छौं ।’
हिजोको वार्ताका विषयमा अनेका खालका टिप्पणी भए पनि सकारात्मक भएको नेम्वाङले बताउनुभयो । आज पनि दुई नेताको भेटघाट हुनसक्ने उहाँको भनाइ छ । पार्टी मिल्न नदिने समुहले नकारात्मक हल्ला फैलाएको उहाँको भनाइ छ । आज साँझसम्ममा विवादका धेरै बिषय टुंगिएर अध्यक्ष ओली र नेता नेपालको संयुक्त विज्ञप्ती आउनसक्ने नेम्वाङले जानकारी दिनुभयो ।
कार्यदलले पार्टी विवाद समाधान गर्ने मस्यौदा तयार गरिरहेको बुझिएको छ । यद्यपी उक्त मस्यौदामा केही विषयमा नेताहरुबीच साझा भाषा खोज्ने क्रम जारी रहेपनि त्यस्तो उपयुक्त भाषा भेटिइनसकेको नेताहरुले बताएका छन् ।






प्रतिक्रिया