काठमाडौं -एमालेमा सहमतिका लागि बनेको एकता कार्यदलले धेरै समय गुजारे पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि निराश बनेका नेता कार्यकर्तालाई आज नेता सुवासचन्द्र नेम्वाङले आशा लाग्दो खबर दिनुभएको छ ।
बैठकपछि निर्णयका बारेमा सधैं अमूर्त कुरा गर्ने नेताहरुले आज आशा जगाउने सन्देश दिनुभएको छ । संस्थापन तर्फको कार्यदलका संयोजक नेम्वाङले भोलि बिहान आठ बजे सुखद् समाचार आउछ भनेर समय नै तोकिदिनुभएको छ ।
नेम्वाङको यो भनाइसँगै एमालेका नेता कार्यकर्तामा एउटा जिज्ञासा आएको छ ‘माधव नेपाललाई कार्यदल के उपहार दिएर चित्त बुझाएको होला ?’सधैं विधी र पद्धतिको कुरा गर्ने नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीनवटा माग राखेको चर्चा व्यापक छ । पहिलो पार्टी महाधिवेशन बिनाको पार्टी अध्यक्ष,दोस्रो निर्वाचन अघिको प्रधानमन्त्री र तेस्रो अध्यक्ष ओलीसँगै निर्णयहरुमा हस्ताक्षरको साझेदारी ।
आम एमालेजनले विधि पद्धतीको कुरा गरेर नथाक्ने नेता नेपाललाई सम्झाएका छन् ‘तपाईंले माग गरेका तीनवटै कुरा विधी र पद्धति भित्र पर्दैनन् ।’ विधि पद्धतिसँगै नेता नेपालले अर्को कुरा पनि उठाइरहनुहुन्छ ‘उधारोमा सहमति हुदैन । हाताहाती हुनुपर्दछ ।’ विधी पद्धतिलाई छोप्ने उहाँको यो दोस्रो तर्कमा पनि एमालेजनले जिज्ञासा राखेका छन् ‘माधव नेपालले हाताहाती के पाउनु होला ?’
नेता सुवासचन्द्र नेम्वाङ यस बिषयमा अहिले जिज्ञासा नै नराख्न आग्रह गर्नुहुन्छ ।‘एकतावद्ध एमाले हुँदा कुनै एक व्यक्ति वा नेताले मात्र केही पाउने होइन सबैले प्राप्त गर्ने मात्र हो’ नेम्वाङ भन्नुहुन्छ ‘कसले के पाए वा गुमाए भन्ने कुराको जवाफ पाउन अबको २४ घण्टा धैर्य गर्नुहोस ।’
नेम्वाङका अनुसार अबको २४ घण्टामा नेकपा एमाले एकतावद्ध हुनेछ । एकतावद्ध एमालेका सहमतिका आधार के के हुन् भनेर कार्यदलका कसैले पनि केही खुलाएका छैनन् । तर धेरै एमालेजनको सोधाइ यो छ कि ‘कार्यदलले माधव नेपाललाई के उपहार दिएर चित्त बुझायो होला ?’







प्रतिक्रिया