काठमाडौँ- वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो ।
‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ,’ शुभारम्भपछि सम्वोधन गर्दै उहाँले भन्नुभयो, ‘ हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षरोपणलगायतका काममा सहकार्य गर्दै आएका छौं । अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु ।’
प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम पनि शुरु गरेको पनि जानकारी दिनुभयो । ‘मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ,’ उहाँले भन्नुभयो,’ कोभिडका बेला धेरै नागरिकलाई बचाउनुपर्छ भनेर महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेको छ । उहाँले त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षत्रपाटीको निशुल्क चिकित्सालयले ३५ शैयाको विशेष कोभिड अस्पतालमार्फत सेवा प्रदान गरिरहेको पनि जानकारी दिनुभयो । एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आर्योवेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरेको पनि उहाँले जानकारी दिनुभयो ।
शाक्यले काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री विभिन्न अस्पताललाई वितरण गरेको पनि जानकारी दिनुभयो । ‘वीर अस्पताल, कान्तिवाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘महानरपालिकाकै सहयोगमा बसुन्धरामा निशुल्क कोभिड आइसोलेशन वार्ड सञ्चालन गरेका छौँ । त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिएको पनि स्मरण गराउन चाहन्छु ।’
काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप दिएको रु ३ करोड रुपैयाँ बाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महानगरपालिका र अस्पतालबीच वि.सं. २०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो ।







प्रतिक्रिया