काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइसक्ने गरि सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ ।
कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताउनुभएको हो । उहाँले जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष्ट्रको सबै भन्दा ठूलो प्राथमिक महत्वको विषय हो भन्ने भावनाका साथ कोभिड १९ विरुद्धको लडाई अघि बढाएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले लगभग यस वर्षको अन्त्य सम्ममा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी सरकारले प्रयास गरिरहेको बताउनुभयो । प्रधानामन्त्री ओलीले भ्याक्सिनको अभावबाट कोही पनि तड्पिन पर्ने स्थिति आउन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको जीवन नै राष्ट्रको सबै भन्दा ठूलो प्राथमिक महत्वको विषय हो । जनताको जीवन रक्षा पहिलो कुरा हो । हामीले जनताको जीवन रक्षा पहिलो कुरा भनेर अगाडि बढायौं । अब पनि त्यही भावनाका साथ , यो तेश्रो लहर चल्छ । चौथो लहर चल्छ भन्ने कुरा छ । भ्याक्सिन हामीले उपलब्ध गराएका छौ । भ्याक्सिन आइराखेको छ । हिजो कि अस्तिको दिनमा पनि भ्याक्सिन आयो, भोली पनि आउँछ । त्यसपछि पनि भ्याक्सिन आउँछन् र निरन्तर खोप उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँ नयाँ सम्झैताका लागि प्रयास गरिराखेका छौ । संवादहरु गरिराखेका छौं । प्रयासहरु गरिरहेका छौं । सामाजिक दुरी कायम गर्ने मास्क लगाउने कुरामा हामीले ध्यान दिनुपर्छ । लापरवाही बढाउने होइन थप सजगता अपनाउने हो । थप उपचारका सुविधालाई हामीले सदुपयोग गर्ने हो र नेपाली जनताको जीवनरक्षा गर्ने हो । त्यसमा हामी सफल हुन्छौ नै । लगभग यस बर्षको अन्त्य सम्ममा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी, २०२१ भित्रमा लगाईसक्नेगरी प्रयास गरिरहेका छौं । हाम्रो क्षमताले कति भ्याउँछ । त्यो भन्दा अलिकति पर पनि जान सक्छ तर भ्याक्सिनको अभावबाट हामी तड्पिन पर्ने स्थिति आउँदैन ।” उहाँले सबैलाई खोप लगाएर सुरक्षित राख्ने प्रयासमा सरकार लागेको भएपनि विश्वभर कोभिड अन्त्य नभएसम्म सबैले सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालमा नया सफलता हासिल गरेको भन्दै पुर्ण क्षमतामा अबिलम्ब सञ्चालन गर्न निर्देशन दिनुभयो । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकता अनुसार अत्यावश्यक सामान लगायत मानवीय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिवद्धता जनाउदै उहाँले विरामीलाई गुनासो रहित सेवा प्रदान गर्न पनि सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो ‘इक्वीपमेण्ट चाहिए पनि नचाहिए पनि किन्ने । नचाहिएका इक्वीपमेण्ट नखोलिकन राख्ने अनि राष्ट्रको क्षति पुराउने जस्ता खालका कामहरु नहुन् । किन्न आवश्यक पर्दा किन्ने हो । किन्न रुचि राख्न हुँदैन सामान । किनेर सामानहरु निष्क्रिय बनाएर राख्ने, तीनको प्रयोग नगर्ने र प्रयोजन विहिन बनाएर राख्ने र राष्ट्रलाई ठूलो घाटा । त्यो खालका कुराहरु हुनुहुँदैन । हामीले हरेक चीजको सदुपयोग हुनुपर्छ । सक्रिय सदुपयोग हुनुपर्छ ।’
सडकमा फालिएका प्लाष्टिक टिपेर रिसाइकल गरि पुन प्रयोगमा ल्याउने गरेको प्रसंग उल्लेख गर्दै अनावश्यक सामान खरिद गरेर प्रयोगविहीन बनाई राष्ट्रलाई घाटा हुने काम नगर्न पनि सचेत गराउनुभयो ।







प्रतिक्रिया