अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद् अवस्थाबाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार

विपद् अवस्थाबाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार


सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रुद्र दुलालको दैनिकी अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो ।

उहाँ हिजोआज यही असार १ गते मेलम्ची नदीमा लेदोसहितको बाढीले भत्काएका संरचना अवलोकन तथा क्षतिको विवरण सङ्कलन गर्न व्यस्त हुननुहुन्छ । तत्कालका लागि वडावासीलाई बस्ने र खाने व्यवस्था मिलाउन, मेलम्ची बजारलाई पूर्ववत् अवस्थामा पुर्‍याउन तथा नदी व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ उहाँलाई ।

बजार क्षेत्रमा व्यक्तिगत घर, होटल, रेष्टुरेन्ट सहित नगरपालिकाको भौतिक संरचना निर्माणाधीन थिए । अकल्पनीय बाढीले बनिसकेको र बन्दै गरेका संरचना क्षणभरमा भत्किए । केही बजार क्षेत्र बगरमा परिणत भएको छ । बाढीले सरकारी सम्पत्तिमा धेरै क्षति पु¥याएको । चन्द्रशम्शेरले निर्माण गरेको ऐतिहासिक पुल सहित पुल पनि भत्किएको छ ।

वडाध्यक्ष दुलाल बाढी आउने साँझ वडा कार्यालयको काम सकेर बजारमै रहेका बेला उहाँलाई इन्द्रावती गाउँपालिकाबाट बाढी आउँदैछ भन्ने सूचना आयो । उहाँले तत्काल प्रहरीको सहयोगमा बजारबासीलाई सजग हुन माइकिङ मार्फत् आग्रह गर्नुभयो । कतिपयले पत्याए पनि धेरैजसोले सूचनालाई बास्ता गरेनन् ।

उहाँलाई असार १ बिर्सन नसकिने दिन सावित भएको छ । सो दिन साँझ कतिपय व्यक्ति पाकेको खाना नै छाडेर भागे भने कतिले घरको सामानको समेत वास्ता नगरी रित्तै हात परिवार लिएर सुरक्षित गन्तव्यतिर लागे । कतिपय व्यक्तिले केही सामान झिक्न पाए पनि हुने भन्ने आशा गरेको उहाँले बताउनुभयो । रातभरी सबै स्थानीयवासी विद्यालयमा बसे । उहाँ झण्डै १ बजेसम्म विद्यालयमा रहेर त्यसपछि घर फर्कनुभयो । आफ्नो व्यक्तिगत सम्पत्तिमा नोक्सान नभए पनि वडाका अभिभावक भएकाले सबै क्षति आफ्नो भएको उहाँलाई लागेको छ । उहाँको घरभन्दा दुईचार घर यतासम्म पनि बाढी पसेको रहेछ ।

सो वडामा अहिले एक तलासम्म बाढीले पुरेका १४० घर पूर्ण क्षतिग्रस्त छन् भने ४२ घर उच्च जोखिममा छन् । असार १ गते बजारका धेरै मान्छे त्यस क्षेत्रको सुरक्षित स्थान मानिने ईन्द्रश्वरी माध्यामिक विद्यालय र सेनाको ब्यारेकमा आश्रय लिएकामा विस्तारै कोही भाँडामा र काही सार्वजनिक भवनमा सर्न थालेको वडाध्यक्ष दुलालले बताउनुभयो । कतिपय व्यक्तिको घरको माथिल्लो तलामा रहेका समान झिक्ने काम भइरहेको छ । नगरपालिकाले यहाँका झण्डै दुई सय घरलाई दुई महिनाको भाडा तिर्न सहयोग गर्ने भएको छ ।

स्थानीयवासी अस्थायी भन्दा स्थायी घर नै बनाउन चाहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘वर्षामा जसोतसो निर्वाह गरेर हिउँदपछि पुनःवासका बारेमा सोच्नुपर्छ ।’ मेलम्ची नगर प्रमुख डम्बरबहादुर अर्यालले नगरपालिकाले तत्काल बाढी प्रभावित नगरवासीका लागि राहत र व्यवस्थापनका काम गरिरहे पनि दीर्घकालीन रुपमा सङ्घीय सरकार र प्रदेश सरकारको सहयोगमा मात्रै व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

बाढी आएको दिन माइकिङ गरेर पूर्वसूचना गरी धेरैलाई घर बाहिर ल्याएर सुरक्षित स्थानमा सारिएको र चार जना व्यक्ति घरभित्रै रहेकामा हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । नगरपालिकाले त्यतिबेला विद्यालय र सैनिक ब्यारेकमा नै बस्ने र खाने प्रबन्ध गरेको थियो ।

नगरपालिकाले पूर्ण क्षतिग्रस्त घरको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लाभग्राही कायम गराउन फारम पठाएको छ । वातावरण संरक्षणमा काम गर्ने सरकारी र गैरसरकारी संस्थासँग छलफल गरिएको नगर प्रमुख अर्यालले जानकारीदिनुभयो । राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको र विपद् व्यवस्थापनमा नगरस्तरीय समितिको गठन गरेर काम भइरहेको उहाँले बताउनुभयो ।

‘मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष’ मा नगरपालिकाले रु ५० लाख, जनप्रतिनिधिले एक महिना र कर्मचारी र शिक्षकले तीन दिनको तलब जम्मा गरेको जनाइएकोे । उहाँले भन्नुभयो, ‘अरू व्यक्ति र संस्थाबाट पनि सहयोग आइरहेको छ ।’

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीलाई पहिलेको अवस्थामा अवस्थामा फर्काउन १० स्काभेटरको प्रयोग गरिरहेको छ । नदीको कटान रोक्न ढुङ्गाको प्रयोग गरी ग्याबिन बक्स भर्ने काम भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । हेलम्बु र पाँचपोखरी थानपाल गाउँपालिसँगको यातायात सुचारु गर्न सडक मर्मत र वैकल्पिक सडक खुलाउन ठेक्का सम्झौता गरिएको छ ।

यहाँका झण्डै १८० घरपरिवारलाई पुनःवासका लागि नगरपालिकाले केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको जनाइएको छ । मेलम्ची र इन्द्रावती नदीमा दुई बेलिब्रिज राख्न आवश्यक छ । झण्डै तीन हजार ५०० रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेकाले इन्द्रावती र मेलम्ची नदीलाई तटबन्ध निर्माण गरी खेतीयोग्य जग्गा संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ । बस्तीलाई त्यही सुरक्षित गर्ने कि अन्यत्र सार्ने भनी छलफल गरेर निर्णयमा पुग्नुपर्नेमा उहाँको जोड छ ।

जिल्ला समन्वय समिति प्रमुख कृष्णबहादुर तामाङले सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको सधैँ उच्च जोखिममा रहेकाले यसमा संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले विपद्का समयमा घरबारविहीन भएकालाई पुनःस्थापित गर्न चासो देखाउनुपर्ने उहाँको माग छ । रासस