अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाडिएको अवस्थामा भेटियो सुजिता ठाकुरको शव

गाडिएको अवस्थामा भेटियो सुजिता ठाकुरको शव


महोत्तरी- महोत्तरीमा लामो समयदेखि बेपत्ता एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार लोहारपट्टी नगरपालिका–७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको हो ।

जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले मध्यराति ती महिलालाई सो स्थानमा गाडिएको हुनसक्ने भन्ने सूचना पाएको थियो । हराएको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि उहाँका आमा-बुबाले प्रहरीलाई खबर गर्नुभएको थियो ।

सूचनापछि रातिदेखि नै खोजी गरी शव निकालिएको हो ।

प्रहरीले हत्या आरोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाकारी दिनुभयो ।

उहाँका अनुसार सुजिताको शव मृतकका ससुराको जग्गामा फेला परेको हो । सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको जग्गामा शव फेला परेको हो।

प्रहरीले आइतबार शव निकालेपछि मृतकका आमा-बुबाबाटै सनाखत गराइएको थियो । प्रहरीले शवको पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ ।

सुजिताको हत्या घरायसी विवादकै कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।