काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको छ ।
आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुनेहरूमा कप्तान तथा गोलकीपर किरण चेम्जोङ, सञ्जोग राई, विशाल राई, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशङ्कर पाशवान, तेज तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दीप कार्की तथा मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल रहनुभएको छ ।
नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।
नेपालका लागि संजोक राई र विशाल राईले एक-एक गोल गर्नुभएको थियो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलो पटक उपाधि जितेको थियो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा युवामन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । यसअघि साफ यस वर्ष बङ्गलादेशमा आयोजना हुने तय थियो ।
प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बङ्गलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बङ्गलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फुटबल आयोजना गर्न दावी गरेका छन् ।
प्रतिक्रिया