काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन सिफारिस गरेको दिनबाटै विपक्षी गठनबन्धनमा सामेल एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले करिब सात महिनाको सहयात्रा अन्त्यको घोषणा गर्नुभएको छ ।
नेपालले आफ्नो भनाइ कार्यान्वयन गर्नुभयो भने पनि भोलिदेखि फेरि उहाँ विपक्षी गठबन्धनमै पुग्नुहुनेछ । किनकि सर्वोच्च अदालतले साविकको विपक्षी गनठबन्धनलाई सत्ताको साँचो सुम्पिएको छ भने सत्ता पक्ष अर्थात नेकपा एमाले अब प्रमुख विपक्षी दलको कित्तामा धकेलिएको छ । प्रचण्ड र शेरबहादुर देउवासँग गहिरो प्रेममा पर्नुभएका नेपाललाई आफ्नै समूहका सारथीहरुले त्यो प्रेमबाट छुटाउन अनवरत प्रयास जारी राख्नुभएको थियो । उहाँहरुको त्यो प्रयासले माधव नेपाललाई सत्ता गठबन्धनमा सामेल गर्न त सकेन तर विपक्षी गठबन्धनबाट विपक्षी गठबन्धनकै कित्तामा उभ्याइदिएको छ । नेता नेपालले आज विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि भन्नुभयो, ‘भोलिदेखि म विपक्षी गठबन्धनमा हुन्न । एमाले मै रहन्छु ।’
माधव नेपालले कम्तीमा दुई दिनअघि मात्र विपक्षी गठबन्धन त्यागेको घोषणा गरेको भए स्थिति यस्तो नहुन सक्थ्यो । उक्त गठबन्धनबाट एमालेका २३ जना सांसदले हस्ताक्षर फिर्ता गरेको भए आज संसद पुनर्स्थापना त हुन्थ्यो तर प्रधानमन्त्रीको नियुक्तिको बैधानिक बाटो अर्थात संसदबाटै हुन्थ्यो । ‘केपी ओलीको सेखी झार्ने’ नेपालको अहम् ले अन्तत: नेपालको गैर राजनीतिक अभ्यासलाई पटाक्षेप गरेको छ । अब एमालेमा नेपाल सहित देउवाका हस्ताक्षरकर्ताहरु रुपमा विपक्षी र सारमा देउवाको सत्ताका सारथी नै रहिरनेछन् । एमालेको इतिहासमा उहाँहरुको नाम ‘स्वर्ण अक्षर’ले लेखिनेछ । जसमा लेखिएको हुनेछ ‘आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएका बेला दलविहीनताको वकालत गर्दै विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन सफल एक इमान्दार नेता ।’

नेपाल सहितका २३ जना नेताहरुले आजसम्मको विपक्षी गठबन्धन छोडेर एमालेमा फर्के पनि उहाँहरुलाई यो प्रश्नले हरेक बैठक, प्रशिक्षण, भेला र आमसभामा पछ्यारहनेछ । हरेक प्रशिक्षणमा,अनुशासनका पाठमा कार्यकर्ता माझ उहाँहरुले आफ्नो अनुहार ऐनामा झलझली देखिरहनुहुनेछ । लाग्छ, आजको फैसलापछि एमाले २३ हस्ताक्षरकर्ता मध्ये अधिकांशले ग्लानी महसुस गरेको हुनुपर्दछ ।
नेता नेपाल नेपालको कम्युनिष्ट इतिहासमा एकजना यस्तो नेता हुनुहुन्छ, जसले सिंगो कम्यूनिष्ट पार्टीलाई दुई चिरा पार्न सेतुको भूमिका निर्वाह गर्नुभयो । जसरी अहिले देउवालाई प्रधानमन्त्री बनाउन उहाँले सेतुको भूमिका निर्वाह गर्नुभएको छ । त्यसैगरी प्रचण्डलाई ओलीसँगको सम्बन्ध तोड्न उहाँले उत्प्रेरकको भूमिका निर्वाह नगरेको भए प्रचण्ड पनि ओलीविरुद्धको अप्राकृतिक अभ्यासमा पुग्नुहुन्थेन होला ।
एमाले बनाउन लामो इतिहास भएका नेता नेपालको छोटो भूमिकाले आफ्ना सहयात्री केपी ओलीलाई सत्ताको सिंढीबाट केही समयका झार्यो होला तर नेपालको निधारमा कलंकको टिका भने आजीवन लागि नै रहनेभयो ।







प्रतिक्रिया