अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल उपमहानगरद्वारा सुत्केरीलाई पोषण सामग्री वितरण

बुटवल उपमहानगरद्वारा सुत्केरीलाई पोषण सामग्री वितरण


बुटवल- बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । महामारीविरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो ।

सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पुर्‍याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । बुटवलले मुलुकमै नमूना कार्यक्रमका रूपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साे कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्यकर्मीहरू लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री प्रदान गर्दै आउनुभएको छ । नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाका जानकारी, ल्याबसहितको निशुल्क स्वास्थ्य चेकजाँच र पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख आचार्यले बताउनुभयो ।

बुद्धनगरस्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र सेमलारको स्वास्थ्य केन्द्रमा हालै संक्षिप्त कार्यक्रमका बीच उपप्रमुख आचार्यले ६० जनालाई पोषण सामग्री प्रदान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । नगरका विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करिब दुई सय ३० जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने छ ।

महानगरका जनस्वास्थ्य अधिकृत उमा थापाको नेतृत्वमा स्वास्थ्यकर्मीहरू कल्पना पौडेल भट्टराई, गीतादेवी पाण्डे, पुजन ज्ञवाली र राजेश गिरीलगायतले स्वास्थ्य चेकजाँच र आवश्यक स्वास्थ्य सल्लाहका लागि उपप्रमुखसंगै फिल्डमा खटिएका थिए ।

बुटवलले यसअघि लकडाउनको अवधिमा पनि आर्थिक रुपमा विपन्न तथा श्रमिक परिवारका ८१ जना गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो । गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइँदै आएको उपप्रमुख आचार्यले बताउनुभयो ।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा

खानुपर्ने सन्देश पुर्‍याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।