बाजुरा– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युवा कार्यकर्ताले ‘केपी बा’ भनेर सम्बोधन गर्छन् । उहाँका प्रतिष्पर्धी हौँ भन्नेहरूले भने यो सम्बोधनलाई रुचाउँदैनन् । तर, ‘केपी बा ’क्रेज गाउँ र दुरदराजसम्म फैलिसकेको छ । क्रेजको रूपमा कसैले पाखुरामा टाटु कुदेका छन् त काेही निधारमा केपी बा को स्टिकर टाँसेर हिँडिरहेका छन् ।
केपी बाका नाममा बिल्कुलै फरक काम बाजुराका एक किसान दम्पतीले गर्नुभएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनाखेलकी नन्दाकुमारी नाथ र उहाँका श्रीमान् पदम कार्कीले केपी बा कृषि फर्म आन्तरिक राजश्व कार्यालय अछाममा दर्ता गरेर सञ्चालन गरिरहनु भएको छ । नाथका अनुसार यो फर्म २६ चैत २०७७ मा दर्ता गरिएको हो । फर्मको पूरा नाम केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म हो ।
आफूहरू सानैदेखि केपी ओलीको समर्थक भएका कारण उहाँको नाममा केही काम गर्ने इच्छा भएको नाथ दम्पतीको भनाइ छ । धेरै ठूलो काम केही गर्न नसकिने भएकोले आफ्नो पेसासँग मिल्दोजुल्दो काम गरेर केपी ओलीको नाम राख्न मन लागेको उहाँहरू बताउनुहुन्छ ।
उहाँहरूले फर्मको नाम त जुराउनुभयो तर यसलाई दर्ता गर्न धेरै सास्ती ब्यहोर्नुपर्यो । अछाम कार्यालयका कर्मचारीले केपी बा नामको फर्म दर्ता गर्न मिल्दैन भनेर धेरै दिन दु:ख दिएको नाथका श्रीमान् पदम कार्की बताउनुहुन्छ ।
फर्ममा अहिले करिब ५ सय वटा कागती विरुवा हुर्कदैछन् । जडिबुटी खेती लगाउने तयारी गरे पनि विरुवा नपाएको नाथको गुनासो छ । ‘केपी बा फर्ममा कागती मात्र होइन बाख्रा पनि हुर्कदैछन्,’ नाथले भन्नुभयो, ‘हामीसँग अहिले ५० वटा खसीबोका पनि छन् ।’








प्रतिक्रिया