पोखरा– गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आज बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८(७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार २८ गते प्रदेशसभामा पेस गरेका थिए। बजेट पास गर्नैपर्ने अवस्था रहेको बेलामा पनि विपक्षीले छलफलमा भाग नलिने तथा सदन नै अवरुद्ध गर्दै आएपछि बुधबारको २४ सौँ बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विरोधकै बीचमा विनियोजन विधेयक अध्यादेशमाथि बिचार गरियोस् भन्ने प्रस्ताव गर्न मुख्यमन्त्री पोखरेललाई अनुमति दिनुभयो ।
विपक्षीको नाराबाजी भएपछि छलफल हुने अवस्था नरहेका कारण बहुमतको आधारमा बजेट पास गर्नुपर्ने अवस्था आएपछि सभामुख अधिकारीले बजेट पास गर्ने वा नगर्ने भनी पक्ष र विपक्षमा हुन्छ वा हुँदैन भन्न लगाउनुभएको थियो ।
त्यही क्रममा प्रतिपक्षी दलका सांसदहरू भने संसद् भवनबाट बाहिरिए । हुन्छ भन्ने पक्षमा बहुमत पुगेपछि सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।







प्रतिक्रिया