अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको मुख्य सल्लाहकार हुँदा सबैको चित्त बुझाउन सकिएन

प्रधानमन्त्रीको मुख्य सल्लाहकार हुँदा सबैको चित्त बुझाउन सकिएन


सम्मानित सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २९ गते नयाँ सरकारको गठनसंगै सम्माननीय प्रधानमन्त्रीको मूख्य सल्लाहकारको जिम्मेवारीबाट बिदा भएको छु । दोश्रो पटक यस जिम्मेवारीमा १,२३७ दिन अर्थात् ४० महिना भन्दा बढी काम गर्ने मौका पाएँ ।

राजनीतिमा संलग्न म जस्ता, जो कोहीका लागि पनि यो अवसर, शासन प्रणाली तथा सरकार सञ्चालनका कतिपय विषयमा जान्ने, बुझ्ने र गच्छेले भ्याएसम्म योगदान गर्न विरलै प्राप्त हुने क्षण थियो । यस्तो महत्वपूर्ण भूमिकामा मलाई योग्य ठानी मौका दिनु भएकोमा म पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

यो जिम्मेवारी एउटा “राजनीतिक नियुक्ति” मात्रै नभएर, आफैंमा एउटा सार्वजनिक पद थियो । त्यसैले जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त प्रसंशा होस् वा आलोचना दुबैलाई मैले सहज ग्रहण गरें । यद्यपी वैचारिक वा दलीय आबद्धताका कारणले, कतिपय सन्दर्भमा तथ्यबाट धेरै पर गएर गरिएका अस्वस्थ आक्रमण र अभद्र टिप्पणीले भने मलाई पनि अरुहरुलाई झैं नमिठोसंग घोची रहे ।

आफ्नो ‘शीर माथिको आकास’ ओगेट्ने क्रममा नेपाल सरकारका मूख्य सचिवदेखि सचिव तथा समग्र कर्मचारी साथीहरु, सुरक्षा निकाय अनि संबैधानिक अङ्गका जिम्मेवारहरुबाट प्राप्त साथ र समझदारी सदा स्मरणीय रहने छन् । म उहाँहरु सबैलाई धन्यवाद भन्न चाहन्छु ।

प्रधानमन्त्री संस्थासंग जोडिएका नीजि सचिवालय, स्वकीय सचिवालय र सल्लाहकार तथा विज्ञ समूहको फरक फरक सीमा र भूमिका हुने विषय स्पष्ट पार्न मैले पटक पटक प्रयास गरें । “सञ्चार शीप”मा रहेको कमीका कारणले हुनसक्छ, फेरी पनि धेरैभन्दा धेरै पार्टीका साथीहरु, विद्वत् वर्ग तथा आम नेपाली दिदीबहिनी-दाजुभाईहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसंग प्रत्यक्ष सम्वाद गर्न, आफ्ना माग तथा गुनासा राख्न मलाई माध्यम बनाउन खोज्नु भयो । तर मेरो सीमाभन्दा बाहिरका परिस्थितिजन्य कारणबाट फेरी पनि कहिं कतै असुविधा पुगेको भए म दुःखी छु ।

हामीले पटक पटक ‘ढलेको सरकार दामी र वितेका नेता नामी’ ठान्ने प्रचलन देख्दै-भोग्दै आएका छौं । हाम्रो नेतृत्वको सरकारले कति काम गर्यो- गरेन? गर्न सक्यो वा सकेन … यी बिषयमा बहस होलान । विश्लेषण गरिएलान । यस सन्दर्भमा मेरो यत्ति मात्र भनाई छ, चालिस महिना पहिलेको हाम्रा वरिपरिका परिवेश हेरौं । तपाई-हाम्रा शहर/वस्तिमा भूकम्पले लडाएका संरचना उस्तै छन् या निर्माण भए? सडक-राजमार्गहरुका हालत उस्तै छन् वा फेरिए? खेतिपाती र सिंचाई, खानेपानी र सरसफाईका अवस्था जहाँको तहीं छन् या फेरिए? ज्यालाजीवीहरुको पारिश्रमिक जहाँको तहीं रहे वा बृद्धि गरिए? सामाजिक संरक्षणका कामहरु उकाले लागे या ओह्रालो लागे? चालिस महिनाको अबधिमा १३/१४ महिनापछि सत्ताधारी दलभित्र शुरु गरिएको कचिंगल र कचिंगल बीच ‘देशभित्र र बाहिर’बाट सिर्जित अबरोध, नीजि स्वास्थ्यसंग पनि जुझ्दै-कोभिड महामारीसंग पनि लड्दै एउटा प्रधानमन्त्रीले यस अबधिमा गर्न सक्ने काम कति हुन सक्थ्यो होला ? … विनापूर्वाग्रह एकचोटी स्मरण गर्नुहोस्, अनि ‘ताली वा गाली’ के गर्नुपर्ने हो गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु ।

शासन सत्तामा संलग्नहरु अडानमा रहँदा उनीहरुलाई कमजोर पार्न परिवारका सदस्यहरुमाथि निशाना साध्ने कथा यदाकदा सुने कै हो । तिनका परिवारजनहरु एउटा नीति कथामा, बाघले ‘पाठाको शिकार’ गर्न “… तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला …” भने झैं आफूसंग कुनै पनि साइनो–सम्बन्ध नभएको अफवाहका शिकार बनाईंदा रहेछन् । योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरु मार्फत चलाइएका यस्तै अफवाहहरुबाट म आफू आक्रान्त हुन परेपनि, ममाथि लक्षित आक्रमणमा संलग्नहरुले मात्र हैन कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु ।