आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो । आजको युगमा मानिसलाई दास बनाउने प्रथा कायम रहन सम्भव थिएन । दासताको जन्जिर तोडिने नै थियो । त्यो जन्जिर २०५७ साल साउन २ गते औपचारिक रुपमा तोडियो ।
खासगरी थारु समुदाय पीडित थियो कमैया कुप्रथाबाट । कमैया कुप्रथाको जन्जिर तोडियो तर अर्को जन्जिर तोडिएन । त्यो जन्जिर हो गरिबी । गरिबीको जन्जिर नतोडिएसम्म कुनै पनि कुप्रथा अन्त्यले पर्याप्त लाभ दिँदैन भन्ने यो २१ वर्षमा हामी सबैले अनुभव गरेका छौं ।
मुक्त भएका धेरै कमैयाहरुको पुर्नस्थापना अहिले पनि हुन सकिरहेको छैन । उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउन सकेका छैनन् । नेकपाको वर्तमान सरकारको पाँच वर्षे कार्यकालमा मुक्त कमैयाहरु सबैको पुर्नस्थापना हुने र उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउने आशा एवं विश्वाश हामी सबैले गरेका थियौं । यो सरकारले ५ वर्ष चलाउन पाएन तर अहिले सम्म जे गर्यो त्यसमा खुशी छौं ।
कमैया मुक्ति दिवसको अवसरमा मेरो मनमा सबैभन्दा घोचिरहने प्रश्न हो गरिबी। गरिबी निवारण नै यो देशको एजेण्डा नम्बर एक हुनुपर्छ । गरिबी निवारण गर्न सकिएन भने यो देशका लाखौं मानिस अघोषित कमैया बनिरहने छन् ।
कमैया मुक्ति दिवसको अवसरमा पूर्व कमैयाहरुको दुख सुखमा म साथ रहेको घोषणा गर्दछु । त्यसैगरी गरिबीको जन्जिरले बाँधिएका लाखौं नेपालीको साथमा रहेको घोषणा गर्दछु । र, गरिबीको जन्जिर तोड्न जाति, पार्टी, क्षेत्र, लिंग लगायतका भाव र विचारहरुभन्दा माथि उठेर वर्तमान सरकारले सहयोग गर्न अपिल गर्दछु ।
चौधरी नेकपा एमाले संसदीय दलको सचेतक हुनुहुन्छ ।
प्रतिक्रिया