काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले शनिबार भेट गर्नुभएको छ ।
ओली निवास बालकोटमा झण्डै डेड घण्टा वार्ता भएको छ । वार्तापछि जसपा संसदीय दलका नेता राजेन्द्र महतोले समसामयिक विषयमा छलफल गरेको जानकारी दिनुभयो । ‘भेटघाट त गर्नैपर्यो नि,’ उहाँले भन्नुभयो ।
जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट जानुभएको हो ।
अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको छ ।
नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल भएको महतोले बताउनुभयो ।







प्रतिक्रिया