हेटौँडा– बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत शय्या छुट्याउन निर्देशन गरेको छ ।
सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा शय्याको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उहाँले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उहाँले खोप खरिदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको र सम्भव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेसमेत आग्रह गर्नुभयो ।
यसैबीच, प्रदेश सरकारलाई ‘एसटिसी ग्रुप’ नामक संस्थाद्वारा २ सय अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिण्डर हस्तान्तरण गर्नुभएको जनाइएको छ ।







प्रतिक्रिया