अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेताहरूलाई ओलीले भन्नुभयो- माधव नेपाललाई बालकोटमा स्वागत छ

एमाले नेताहरूलाई ओलीले भन्नुभयो- माधव नेपाललाई बालकोटमा स्वागत छ


काठमाडौं– एमालेमा विवाद समाधान गर्न बनेको विघठित कार्यदलका सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बिहान बसेको अनौपचारिक बैठकले अध्यक्ष ओली र नेता माधव नेपाललाई अलगअलग भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

सो बमोजिम दिउँसो उपमहासचिव विष्णु पौडेल र नेम्वाङले अध्यक्ष ओलीलाई भेटेर बिहानको भेटघाटको जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले साँझ ६ बजे नेताहरूलाई समय दिएपछि विष्णु रिमाल र रघुजी पन्तबाहेकका नेता बालकोट पुग्नुभएको थियो । ‘अध्यक्षलाई भेटेर हामीले करिब दुई घण्टा हाम्रा कुरा भन्यौं र अध्यक्षका कुरा सुन्यौं,’ नेम्वाङले भन्नुभयो, ‘कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष सकारात्मक हुनुहुन्छ । माधव कमरेड पनि सकारात्मक भए कुरा टुंगिन्छ ।’

पूर्व कार्यदलका सदस्यहरूले ओलीलाई नेता नेपालसाग भेटेर सहमति कायम गर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष ओलीले कार्यदलको प्रतिवेदनप्रति सकारात्मक भएकै कारणले पार्टीले त्यसलाई ग्रहण गरिसकेको बताउनुभयो । ‘बालुवाटार हुँदा मैले माधव कमरेडलाई ठाउँ ठाउँमा गएर भेटे । अब उहाँलाई बालकोटमा स्वागत छ,’ अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक नेताले भन्नुभयो, ‘उहाँलाई सम्झाउनुहोस् । पार्टीको विवाद मिलाउ । एकतावद्ध एमाले बनाएर अघि बढौं ।’

नेताहरूले भोलि बिहान माधव नेपाललाई भेट्ने समय तय गरेका छन् । आज प्रचण्डसँगको भेटघाटका कारणले एमालेका नेताहरूलाई समय दिन नसकेको नेपालले बताउनुभएको थियो ।