काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
आफ्नै कारणले संसद पुनस्थापना भएको तर्क अघि सार्दै उक्त समूहले विश्वासको मत दिएर सरकार जोगाउनु पनि आफ्नै दायित्व भनेको छ । सो समूहले पार्टीमा सहमति हुने भनेर कहिले बैठक रोक्न माग गर्ने त कहिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एकताको रटान छोडेको छैन । तर यी सबै अलमलहरु आज देउवालाई विश्वासको मत दिनकै लागि भएको नेताहरुले बताएका छन् ।
अहिले बिहान पनि माधव नेपाल निवासमा विघटित कार्यदलका सदस्यहरु भेटघाटका लागि जानुभएको छ । उहाँहरुबीच अहिले छलफल जारी छ । तथापी माधव नेपालले सरकारलाई विश्वासका मत दिए पछि मात्र थप छलफल गर्न सकिने अडान दोहोर्याउनु भएको छ । नेपालले कांग्रेस माओवादीको सत्तालाई डेढ वर्षको लागि सुनिश्चित गरेपछि मात्र एमालेमा फर्कने नफर्कने निर्णय गर्ने बुझिएको छ ।
एमाले सांसद विरोध खतिवडाले आफूहरुले अहिलेसम्म जे अभियान चालेको हो त्यसलाई नै पूरा गर्ने बताउनुभयो । नेपाली बहस डट कमसँग खतिवडाले भन्नुभयो, ‘विश्वासको मत नदिएसम्म हाम्रो अभियान पूरा हुँदैन । त्यसैले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं ।’
देउवाले प्रधानमन्त्री नियुक्त भएको हप्तादिन नपुगि विश्वासको मत लिनुको कारण पनि माधव नेपाल पक्ष नै भएको नेताहरु बताउँछन् । पार्टीमा सहमति कायम भइहालेमा आफूलाई विश्वासको मत दिन नैतिक संकट पर्ने भएकोले विवादकै बीचमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । माधव पक्षका २३ जना सांसदले सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।







प्रतिक्रिया