काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा एकाएक विश्वासको मत लिन हतारिनुभएको छ ।
प्रधानमन्त्री भएपछिको कांग्रेस पदाधिकारी बैठकले विश्वासको मत लिन नहतारिने निर्णय गरे पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आइतबार नै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद हुनुहुन्छ । एमालेको माधव नेपाल समूहका कम्तिमा ८ सांसदले मत नदिए देउवा सरकार जोगिँदैन ।
किन प्रधानमन्त्री देउवा विश्वासको मत लिन हतारिनु भयो त ?
१. नेकपा एमालेमा एकताका लागि माधवकुमार नेपाल समूहलाई दबाब तीब्र छ । विघटित कार्यदलसहितका नेताहरुले नेपाललाई निरन्तर एकताको पक्षमा उभिन अनुरोध गरेका छन् । तर, नेपालले मान्नुभएको छैन । नेपालको विगतको पृष्ठभूमिका आधारमा पनि कुनै पनि बेला नेपाल एकताको पक्षमा उभिन सक्ने देखेर प्रधानमन्त्री विश्वासको मत लिन हतारिनुभएको हो ।
२. एमालेमात्र नभएर अहिले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह त्याग्दै उपेन्द्र यादव समूहमा गएकाले प्रधानमन्त्री देउवालाई थप राहत भएको छ । महन्थ समूह कमजोर भएकैबेला विश्वासको मत लिँदा नेपाल समूहका केही सांसद नआए पनि बहुमत पुग्छ ।
३. तत्कालै विश्वासको मत लिँदा देउवालाई सरकार विस्तार गर्न सहज हुन्छ । अहिले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् पाँच सदस्यीय छ । कांग्रेसका दुई र माओवादी केन्द्रका दुई मन्त्रीमात्रै छन् । प्रधानमन्त्रीसँग मन्त्री बनाइदिन दबाब बढिरहेको छ ।







प्रतिक्रिया