अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको ठिनीमा ट्रक दुर्घटना : दुईको मृत्यु, चार जना घाइते

मुस्ताङको ठिनीमा ट्रक दुर्घटना : दुईको मृत्यु, चार जना घाइते


मुस्ताङ– जिल्लाको घरपझोङ गाउँपालिका-५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी थप चार जना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो ।

ट्रकमा सातजना सवार रहेका बताइएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उहाँकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिनुभयो ।

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उहाँले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उहाँहरु मजदूरीका लागि मुस्ताङ पुग्नुभएको थियो ।

त्यसैगरी, पर्वतको जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा छन् । उहाँहरूको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिनुभयो । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ ।