अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर


बागलुङ– जिल्लाको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ-कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी-पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन ।

करिडोर तत्कालका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । बागलुङ नगरपालिका-१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पुर्‍याएको थियो ।

‘दक्षिण जोडिएका सडकमा यस वर्षका लागि निकै समस्या छ, ठूला-ठूला पहिराले सडक अवरुद्ध हुने गरेको छ,’ कार्कीले भन्नुभयो, ‘ठूलो वर्षा नभएमा केही दिन सडक सञ्चालनमा रहन्छ ।’ करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने भएको छ । करिडोरसमेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।

अत्यावश्यक खाद्यान्नलगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो । बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । ‘खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौँ, विकल्प पनि त छैन्,’ कार्कीले भन्नुभयो ।