अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

कालीकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान


कालीकोट– कालीकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड-१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो ।

विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड-१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताउनुभयो ।

‘हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौँ ।’

मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा श्यया अक्सिजन सिलिण्डर जडान गरिएको देवले बताउनुभयो । ‘कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ,’ उहाँले भन्नुभयो, ‘दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएको छ ।’

कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा. भोजराज बमले जानकारी दिनुभयो ।

बिरामीलाई श्वासप्रश्वासको समस्या भए बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको रहेकोमा अबभने यही अस्पतालमा नै उपचार गर्न सकिने जानकारी उहाँले दिनुभयो ।

कोरोना महामारी आउना साथ आफूहरूले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो ।