काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र भूमि व्यवस्था आयोगका अध्यक्षको प्रतिवदेन पेश गरेपछि स्थगित भएको छ ।
केन्द्रीय सदस्य अच्युत मैनालीका अनुसार सात वटै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा भएको पार्टीको अवस्था, जारी विवादका कारण संगठनका तल्ला कमिटी र मतदाता तहमा आउने सक्ने विचलनका बारेमा बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ‘पार्टी र संगठनलाई बलियो बनाउन अब के गर्नु पर्दछ भनेर पनि अध्यक्ष कमरेडहरुले सुझाव पनि दिनुभएको छ,’ मैनालीले भन्नुभयो ।
त्यस्तै, अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समस्या समाधान आयोगका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य देवी ज्ञवालीले हालसम्मका प्रगतिको विवरण बैठकमा प्रस्तुत गर्नुभएको छ ।
हिजोको बैठकमा २४ घण्टे स्पष्टिकरण काटिएको माधव नेपालसहितका सांसदहरूको बारेमा बैठकमा कुनै कुरा उठेन । उहाँहरूलाई स्पष्टीकरण पत्र नै नकाटिएपछि यस विषयमा कुनै निर्णय नभएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । तेस्रो दिनको बैठक भोली ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।







प्रतिक्रिया