काठमाडौं- काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजनाको समष्टिगत भौतिक प्रगति १६.१ प्रतिशत र वित्तिय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ ।
आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको थियो । गत आव ०७७-७८ मा रु आठ अर्ब ९६ करोड ८८ लाख विनियोजन वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत रहेको नेपाली सेनाले जनाएको छ । सेनाको निर्माण व्यवस्थापनमा अघि बढेको उक्त आयोजनाको महत्वपूर्ण संरचनाको रुपमा रहेका दुवै सुरुङ ठेक्कापछिको कार्य प्रारम्भ गरिएको छ ।
आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषयविज्ञ छनोट गरी सर्भेलगायतका कार्य सुचारु गरिएको छ ।
हाल उक्त परामर्शदाताबाट टोली प्रमुख, आयोजना समन्वयकर्ता, सुरुङ इञ्जिनीयर्स, सडक इञ्जिनीयर्स, पुल इञ्जिनीयर्स, वरिष्ठ भूगर्भ शास्त्रीले कार्य प्रारम्भ भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
हालसम्म ९१.५ % जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।
आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजनाअनुसार आठवटा बेलिबृज जडान गरिएको तथा पुल तथा सुरुङ निर्माण गर्न आवश्यक पहुँच मार्ग निर्माण कार्य भइरहेको छ । आयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा नवीन उपकरणसहितको प्रयोगशाला थपको व्यवस्था गरिएको छ ।
आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण र मुआब्जा वितरणको काम पूरा भएको छ । खोकना-बुङ्मतीमा जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन भई समन्वयका लागि पहल भइरहेको सेनाले जानकारी दिएको छ ।
रुख कटान तथा व्यवस्थापनको काम शतप्रतिशत पूरा भई वृक्षरोपण पनि असार मसान्तसम्म दुई लाख ४९ हजार १६६ वटा भएको छ । आयोजना अघि बढाउने सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङकन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया