काठमाडौँ- यतिखेर बैंकिङ्ग क्षेत्रमा ह्याकरको एउटा इमेलले आतंक नै मच्चाएको छ । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरिसकेको र ठूलो मात्रामा पैसा चोरी गर्ने भन्दै इमेल र फोन आएपछि राष्ट्र बैंकले यसबारे अनुसन्धान थालेको छ । साथै नाम उल्लेख गरिएका बैंकहरुले रातभर कर्मचारी खटाएरै सिस्टम निगरानी बढाएका छन् ।
बुधबार एक अपरिचित इमेल आइडीबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई इमेल पठाउँदै ह्याकिङको निशानामा रहेका १५ बैंकको सूची दिइएको थियो । साथै बिहीबार (आज) बिहान ७ बजेतिर उनै ढकालको नम्बरमा एउटा अन्तर्राष्ट्रिय कल आएर अघिल्लो दिन चेतावनी दिइएका बैंकहरुको सिस्टम ह्याक गरिसकिएको भनेको छ ।
‘योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर आफूलाई फोन आएको प्रवक्ता ढकालले बताउनुभएको छ । उहाँले तुरून्तै आफ्नो आइटी विभागलाई जानकारी गराएको र यसबारे अनुसन्धान थालिएको समेत बताउनुभयो ।
प्रवक्ता ढकाललाई आएको मेल र फोनमा नेपालका प्रमुख बैंकहरु नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभेरेस्ट तथा हिमालयन बैंक लगायतको सिस्टम ह्याकरकाे पहुँचमा पुगिसकेको र अबको २४ घण्टाभित्र आनलाइन तथा अफलाइन दुवै प्रविधिबाट पैसा चोरी गर्ने धम्की दिइएको छ ।







प्रतिक्रिया