अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा फेरि कोरोना संक्रिमतको संख्या बढ्यो

भारतमा फेरि कोरोना संक्रिमतको संख्या बढ्यो


नयाँ दिल्ली– भारतमा कोरोना संक्रमणबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाबाट सङ्क्रमित नयाँ थपिएका छन् ।

अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको हो ।

सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या पनि थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत बढ्दै गइरहेको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितहरूको सङ्ख्याको १.३१ प्रतिशत मात्रै हो ।

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड ९ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ ।

तीमध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।