अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेगा बैंक १२औँ वर्षमा प्रवेश, पाँच वर्षे रणनीतिक योजना तयार

मेगा बैंक १२औँ वर्षमा प्रवेश, पाँच वर्षे रणनीतिक योजना तयार


काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड १२ औँ वर्षमा प्रवेश गरेको छ । ११औँ वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो ।

‘हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरूप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भन्नुभयो, ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौँ ।’

उहाँले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको जानकारी दिनुभयो । ‘युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ,’ अध्यक्ष शाहले भन्नुभयो ।

देशको २८ औं वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौँ स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ ।

मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरू सञ्चालनमा आउँदैछन् ।

साथै, मेगा बैंकले ११औँ वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी-पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।