अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्पलालले रोपेको विरुवालाई मर्न दिने छैनौं : अध्यक्ष ओली

पुष्पलालले रोपेको विरुवालाई मर्न दिने छैनौं : अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले रोपेको विरुवालाई मर्न नदिइने बताउनुभएको छ ।

पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘पुष्पलालले रोपेको विरुवालाई हामीले मर्न दिने छैनौं, जननेता मदन भण्डारीले राम्ररी स्याहारसुसार गर्नुभएको यो विरुवालाई राम्रोसँग हुर्काउँदैछौं ।’

पुष्पलाल र मदन भण्डारीका विचारबाट आफूहरूको आन्दोलन अगाडि बढ्ने उहाँले बताउनुभयो । पुष्पलाल र मदनका विरोधीहरू नै उहाँहरूका नामबाट अनेक संस्था खोलेर भ्रम फैलाउन काममा लागेका पनि अध्यक्ष ओलीले बताउनुभयो । नेकपा एमाले सुद‍ृढ रुपमा अगाडि बढिरहेको भन्दै उहाँले केही व्यक्ति पतनको बाटोमा गएपनि धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

आज पनि नेकपा एमाले देशकै प्रमुख पार्टी भएको बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा, राष्ट्रिय सभा,प्रदेश सभा, स्थानीय तह सबैतिर सबैभन्दा ठूलो दल एमाले हो, देशकै प्रमुख राजनीतिक शक्ति हो ।’

जहाँ नेपाली त्यहाँ नेकपा एमाले भन्ने ढंगले अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । आफूहरूको आन्दोलन आन्दोलन कर्कलाको पातको पानीजस्तो नभएको भन्दै उहाँले कसैले हल्लाउँदैमा पानी नखस्ने बताउनुभयो । पुष्पलाल र मदन भण्डारीजस्ता विद्धानबाट प्रभावित आन्दोलन कुनै पनि हालतमा कमजोर नहुने पनि ओलीले बताउनुभयो ।